कुलमानको पार्टीमा विज्ञहरू रहेको भन्दै प्रधानमन्त्रीको प्रशंसा, निर्वाचन परीणामबाट निरुत्साही नहुन आग्रह


काठमाडौं, ८ चैत्र । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक कठिन अवस्थाबाट सुरक्षित अवतरण सम्भव भएको भन्दै बधाई ज्ञापन गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारमा भेट गरी प्रधानमन्त्री कार्कीको निष्ठा र प्रतिबद्धताका कारण नै शान्तिपूर्ण निर्वाचन सम्भव रहेको भन्दै बधाई ज्ञापन गरेको हो।

चुनाव हुनेमा धेरैतिरबाट आशंका व्यक्त भइरहेका बेला सबैलाई विश्वासमा लिएर देशैभर एकैपटक स्वच्छ र धाँधलीरहित तरिकाले निर्वाचन सम्पन्न गराउन सक्नु चानचुने सफलता नभएको भन्दै उक्त प्रतिनिधिमण्डलले सरकारको प्रशंसा गरेको थियो।
‘चुनौतीपूर्ण परिस्थितिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराई मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने गहन दायित्व पूरा गर्नुभएकोमा सम्माननीयज्यूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं,’ अध्यक्ष घिसिङले भने,’म हारे पनि देशले जितेको छ। तपाईँको नेतृत्वमा देशले सेफल्यान्डिङ पाएको छ। यसैमा खुसी छु। यति महत्त्वपूर्ण इतिहासको घडीमा मैले पनि केही समय यस सरकारमा रहेर काम गर्न पाएँ। अब संसदमा नभए पनि बाहिरै बसेर देशका निम्ति काम गर्छु।’

प्रधानमन्त्री कार्कीले उज्यालो नेपाल पार्टीले निर्वाचनमा भाग लिएर यस प्रक्रियालाई सघाएको भन्दै उच्च सह्राहना गरिन् । यस्तै यस सरकारको सफलताका लागि घिसिङले खेलेको प्रभावकारी भूमिकाको पनि प्रशंसा गरिन्।

‘तपाईँहरु विभिन्न क्षेत्रका विज्ञहरु पार्टीमा हुनुहुँदो रहेछ’ प्रधानमन्त्री कार्कीले भनिन्,‘यस्ता क्रिम अफ द सोसाइटीले मुलुकका निम्ति संसदबाहिरै पनि अझै धेरै काम गर्न सक्छ। एउटै निर्वाचनको नतिजाबाट निरुत्साहित भइहाल्नुहुँदैन। तपाईँहरुले गर्ने काम धेरै छ। अविचलित रुपमा अगाडि बढ्नुहोस्। मेरो शुभकामना छ।’

यसै क्रममा उक्त पार्टीले प्रधानमन्त्री कार्कीसमक्ष खाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षा तथा गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिकीकरणको माग पनि गरेको छ।