काठमाडौं, ८ चैत्र । नेपाली युवा इन्जिनियरहरुले तयार पारेको राईड सेयरिङ एप ल बसम “La Basam” लञ्च गरिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले उक्त एप आज सार्वजनिक गरेका हुन् ।
रोशन पौडेलले यो एपले राइड सेयरिङलाई अझै व्यवस्थित् बनाउने बताए । उनले भने,‘ल बसमले नेपाली बजारमा आफ्नो उपस्थितिलाई अझै सुदृढ बनाउँदै सेवा, विश्वास र प्रविधिलाई एकीकृत बनाउँदै अघि बढिरहेको छ । नेपाली परिवेश र आवश्यकतालाई मध्यनजर गरेर यो एप निर्माण गरिएको छ, यो यस्तो राइड सेयरिङ हो, जसले सुरक्षित, भरपर्दो र सहज यातायात सेवा दिने लक्ष्य लिएको छ ।’ प्रयोगकर्ताको मागलाई उच्च प्राथमिकतामा राखेर यो एप निर्माण गरिएको उनको भनाई छ । आफूहरुले लोगो निर्माण गर्दापनि समावेशितालाई ध्यान दिईएको उनको भनाई छ ।

ल बसम परिवारका सदस्य सिताराम अधिकारीले एपको उद्देश्य र यसको फिचरबारे प्रकाश पारेका थिए । उनले नेपालको प्रविधि र यातायात क्षेत्रमा नयाँ ईट्टा थप्न पाउँदा हर्षित रहेको उनको भनाई छ । सहरी क्षेत्रमा यातायातको समस्या र प्रविधिको आवश्यकतालाई मध्यनजर गरेर यो प्लाटफर्म तयार पारेको उनको दाबी छ । यो एप लञ्च गरिनुको उद्देश्य भनेको यात्रु र चालकलाई भरपर्दो प्लेटफर्म तयार पारिनुको साथै रोजगारी प्रदान गरिने रहेको छ । जिपिएस ट्रयाकिङ र अनुमानित भाडाको बारेमा जानकारी पनि गराईने उनले बताए ।

ल बसम कम्पनीका संस्थापक अध्यक्ष विष्णुराज गिरीले एपको बारेमा प्रकाश पारेका थिए । उनले आफू केही समय आफूले स्वास्थ्य क्षेत्रमा काम गरेको र पछि अष्ट्रेलिया गएको र साढे ९ वर्षको अष्ट्रेलिया बसाई अन्त्य गरेर आफू गत सन् २०२५ मा नेपाल फर्किएको जानकारी दिए । आफूहरुको भाषा र पहिचानलाई प्रोत्साहन गर्नको लागि ल बसम नाम दिईएको बताए । उनले एपको नाममा आत्मियता झल्किएको बताए । राइड सेयरिङमा एकरुपता ल्याउनुपर्ने उनको भनाई छ ।




प्रतिक्रिया