काठमाडौँ, ८ चैत । काठमाडौँ महानगरपालिकाको स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्न पाक्षिक वैठक सुरु भएको छ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा केन्द्रमा रहेका विभागीय प्रमुखहरुसँग चालु आर्थिक वर्षमा आफू मातहत कार्यान्वयन हुनु पर्ने कार्यक्रमको समीक्षा थालिएको हो । कार्यान्वयनमा गएका कार्यक्रमको गुणस्तर र प्रभावकारिता कस्तो छ? कार्यान्वयनमा जान बाँकी कार्यक्रम कसरी र कहिले सञ्चालन हुन्छन्? कार्यान्वयन हुन नसक्ने कुनै कार्यक्रम छन् भने किन कार्यान्वयन हुँदैनन्? वैठकमा विभागीय प्रमुखहरुले प्रस्तुतिसहितको प्रगति पेश गर्नुपर्छ ।
यसरी पेश गर्नु पर्ने विवरणमा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमको संख्या, विनियोजित रकम, यो रकम महानगरपालिकाको कुल बजेटको कति प्रतिशत हो? यसमध्ये अहिलेसम्म कतिवटा कार्यक्रम कार्यान्वयनमा आए? कार्यान्वयनमा आएका कार्यक्रम कति बजेटका हुन्? यसको वित्तीय र भौतिक प्रगति कति हो? चालु आर्थिक वर्षमा सम्पन्न गर्न निश्चित भएका कार्यक्रमको संख्या कति हो? यसमा कति प्रतिशत रकम खर्च हुन्छ? सुरु हुन नसकेका कार्यक्रम कति रकम बराबरका हुन्? ती कार्यक्रम किन कार्यान्वयनमा जान नसक्ने हुन्? विभागीय प्रमुखहरुको प्रस्तुतिमा समेटिनेछन् । यी प्रस्तुतिमा अन्तरसम्बन्धित क्षेत्रका अधिकारीहरुको प्रतिक्रिया राख्नुहुनेछ ।
आजको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले पूँजीगत खर्च गर्ने मितव्ययी क्षमता बढाउनमा, गुणस्तर र गुणात्मकतामा जोड दिँदै, हरेक कार्यक्रम कार्यान्वयन गर्दा आम मानिससँग कति जोडिन्छ? र कसरी जोडिन्छ भन्ने विषयमा ध्यान दिन निर्देशन दिइन् ।
“स्वीकृत कार्यक्रम कार्यान्वयन गर्नु जति महत्वपूर्ण छ । कार्यान्वयनमा गएका कार्यक्रमले आम मानिसलाई कति लाभ दियो भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । यसकारण दुवै पक्षलाई समान ध्यान दिनुहोला । कार्यान्वयन भएका कार्यक्रमको अध्ययन विश्लेषण गरेर नतिजा मापन गर्नुहोला ।” उनले भनिन्, “लिखित आन्तरिक समन्वय प्रणाली कार्यान्वयनमा ल्याउनुहोला । यसले जवाफदेहितामा वृद्धि हुनेछ ।”
“सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) को वैठकमा आजको समीक्षालाई अझ सुक्ष्म विश्लेषण हुनेछ ।” बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले भने, “हरेक योजनाको विवरण अद्यावधिक गरिनेछ । समय हुँदै कार्यक्रमका सम्भावना र चुनौती पहिचान गरेर पूँजीगत खर्चको क्षमता प्रणाली विकास गरिनेछ ।”
प्रशासन विभागका प्रमुख महेश काफ्लेले प्रशासनिक खर्च घटाउने दिशामा विभाग केन्द्रीत रहेको बताए । योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले कार्यक्रमको मात्र नभइ नीतिको पनि समीक्षा गर्नु अवस्था रहेको औँल्याइन् ।
वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले महानगरपालिका भित्र फोहरलाई स्रोतमा घटाउन छुट््याइएका ७ क्षेत्रमध्ये ६ वटा क्षेत्रका लागि ट्रान्सफर स्टेशनका लागि स्थान पहिचान गर्नु र निर्माण गर्नु विभागका लागि महत्वपूर्ण रहेको उल्लेख गरिन् ।




प्रतिक्रिया