आज कहाँको मौसम कस्तो?


काठमाडौं, चैत ९ । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ भने अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा सधारणतया बादल लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।