निषेधित क्षेत्रमा विदेशीलाई एक्लै घुम्न अनुमति


काठमाडौं, चैत ९ । अध्यागमन विभागले १३ वटा जिल्लामा रहेका निषेधित क्षेत्रमा एकल पदयात्रा गर्न स्वीकृति दिने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पहिलोपटक निषेधित क्षेत्रमा एकल पदयात्रीलाई पनि पदयात्राका लागि स्वीकृति दिने निर्णय गरिएको हो ।

कुनै पनि कानुनले व्यवस्था नगरेको भएपनि एकल पदयात्राको स्वीकृति नदिँदा नक्कली सहयात्री बनाउने र एउटाको नाममा अर्कै जाने गरेको विकृति बढेपछि विभागले पदयात्रामा नयाँ नियम लागू गरेको उनले जानकारी दिए । एकल पदयात्रीले एउटा गाइड भने लैजानुपर्ने छ। एकल पदयात्रीको सुरक्षा र अन्य व्यवस्था भने सम्बन्धित ट्रेकिङ एजेन्सीले बेहोर्ने व्यवस्था गरिएको तिवारीले बताए।

विभागका अनुसार अब पदयात्रा गर्दा अनिवार्य रूपमा ट्रेकिङ एजेन्सीमार्फत नै आवेदन पेस गर्नुपर्नेछ र त्यस्तै एउटा गाइडले अधिकतम ७ जनासम्म पदयात्रीलाई निगरानी गर्ने व्यवस्था गरेको छ । नेपालका हिमाली क्षेत्रका १३ जिल्लाहरूलाई सरकारले ‘निषेधित क्षेत्रको रूपमा वर्गीकरण गरेको छ, जहाँ विदेशी पर्यटकहरूको प्रवेशका लागि अध्यागमन विभागबाट विशेष अनुमतिपत्र लिनु अनिवार्य हुन्छ।

यी क्षेत्रहरूमा विशेष गरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुलाका केही दुर्गम र चीनको सीमासँग जोडिएका भू–भागहरू पर्दछन्। राष्ट्रिय सुरक्षा, सांस्कृतिक सम्पदाको संरक्षण र सीमावर्ती संवेदनशीलतालाई ध्यानमा राखेर यी क्षेत्रमा पदयात्रा गर्दा एक्लै जान पाइँदैन, कम्तीमा एक जना आधिकारिक गाइड हुनुपर्ने कानुनी प्रावधान छ।