रविको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा


काठमाडौं, चैत ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ हुने भएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । उक्त निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका छन् ।

यसअघि गतसाता सुनुवाइ भएको थियो। तर महान्यायाधिवक्ताले गरेको माघ २ गतेको निर्णय झिकाउन आदेश दिँदै आजका लागि सोही इजलासले पेशी तोकेको थियो । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले चार दिनको सुनुवाइपछि बिहीबार महान्यायाधिवक्ताले अभियोगपत्र संशोधन सम्बन्धी गरेको पछिल्लो निर्णय लगायत सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो ।

रविविरुद्ध कास्कीको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा छ । महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।