मनिष झालाई सञ्चारमन्त्री बनाउने तयारी, अमरेशको पनि मन्त्री बन्ने चाहना !


काठमाडौं, ९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले यही साता सरकार बनाउँदैछ । पार्टीका वरिष्ठ नेता बालेन शाहले यही चैत्र १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी थालिएको छ । प्रधानमन्त्रीको तयारीसँगै रास्वपाका शीर्ष नेताहरु यतिवेला मन्त्रीहरु चयन गर्नमा व्यस्त छन् ।

भर्खरै रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्धय डिपी अर्याल र स्वर्णिम वाग्ले बसेर सरकार निर्माणको विषयमा छलफल गरेका थिए । सो छलफलको तस्विर वाग्लेले सार्वजनिक गर्दै राजकाजको बारेमा छलफल भनेर लेखेका थिए ।

सरकारको नेतृत्व गर्न लागेका वरिष्ठ नेता शाहले यसपटक मन्त्रीहरु चयन गर्दा पार्टीको हस्तक्षेप नहोस भनेका छन् । त्यसैले उनले मन्त्रीहरु आफैं चयन गर्ने बताईन्छ । तर, सभापति लामिछानेले गृह, परराष्ट्र र कानून मन्त्रालयमा चासो राखेका छन् । लामिछानेले गृहमन्त्रालयको नेतृत्व उपसभापति अर्याललाई सुम्पिन चाहेका छन् ।

परराष्ट्रमा शिशिर खनाल र कानून मन्त्रालयको नेतृत्वमा सोविता गौतमलाई सिफारिश गरेको बताईन्छ । तर, बालेन शाहले गृह मन्त्रालयमा आफ्ना विश्वासपात्र सुनिल लम्साललाई अघि सारेको बताईन्छ । सभापति लामिछानेले यसपटक सञ्चार मन्त्रालयको नेतृत्वमा प्रवक्ता मनिष झालाई अघि सारेको बताईन्छ ।

लामो समयदेखि सभापति लामिछानेको विश्वासपात्रको रुपमा काम गरेको र अघिल्लोपटक सदनमा प्रभावकारी भूमिका निर्वाह गरेको कारण झालाई सञ्चारमन्त्री बनाईने तयारी गरिएको छ । झाको नाममा वरिष्ठ नेता शाह पनि सकारात्मक रहेको बताईन्छ ।

झा यसपटकको निर्वाचनमा धनुषा–३ बाट निर्वाचित हुन् । उनले नेपाली कांग्रेसका विमलेन्द्र निधि र एमालेकी जुलीकुमारी महतोजस्ता पूराना दलका शीर्ष नेताहरुलाई पराजित गरेका थिए । उनले ४३ हजार ९८८ मत ल्याउँदा निधिले जम्मा १६ हजार ६५२ मत ल्याएका थिए । झा र निधिबीच २७ हजारको मतान्तर छ ।

आज/भोलिभित्रै रास्वपाले मन्त्रीहरुको नाम टुँगो लगाउने भनिएको छ । यसपटक सर्लाही–४ बाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले पनि मन्त्री बन्ने चाहना राखेका छन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगन थापाले जम्मा २२ हजार ८३८ मत ल्याएका थिए ।

उनी बालेन सरकारमा शक्तिशाली मन्त्रालयको नेतृत्व लिन चाहन्छन् । चुनावको प्रचारप्रसारको क्रममा पनि उनले आफू शक्तिशाली मन्त्री बन्ने भनेका थिए । उनी अन्तर्राष्ट्रिय सम्बन्धमा जानकार मानिन्छन् । उनले पनि परराष्ट्र मन्त्रालयको नेतृत्वमा आँखा लगाएको चर्चा छ । तर, उनी बेलाबेलामा विवादित अभिव्यक्तिको कारण चर्चामा रहने भएकोले उनलाई परराष्ट्र मन्त्रालयको चाबी रास्वपाले नसुम्पिने बुझिएको छ । file photo