वानीरा पुरस्कार वितरण गरिने


काठमाडौँ चैत ९ । वानीरा फाउन्डेशन नामक साहित्य प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई वानीरा पुरस्कार वितरण गर्ने भएको छ । सो फाउन्डेशनले कवि/गीतकार माधव खनाल ‘भावुक’, कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य र आख्यानकार धनराज गिरीलगायतलाई वानीरा पुरस्कार वितरण गर्ने भएको हो ।

नेपाली भाषा साहित्यको सिर्जनामा विगत साढे सात दशकदेखि साधनारत गीतकार खनाललाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको फाउन्डेशनले जनाएको छ । भावुकको पहिलो कृति विक्रम संवत् २००९ मा प्रकाशन भएको थियो ।

भावुककृत कवितासङ्ग्रहमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेखेका थिए । उनका तीनवटा कृति र एक सयजति फुटकर लेखरचना प्रकाशित छन् ।

त्यस्तै, आफ्नै स्रोत र साधनबाट विगत चार दशकदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्ला समयमा कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्र–मानव (रोबोट) को आविष्कारसमेत गरी अन्तर्राष्ट्रिय जगत्मा नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक शाक्यलाई पनि ‘वानीरा शङ्कर पुरस्कार’ उपलब्ध गराउने निर्णय भएको जनाइएको छ । यी दुवै पुरस्कारका राशि जनही एक एक लाख रुपैयाँ रहेका छन् ।

साथै आख्यान, कविता र हास्यव्यङ्य लेखनमा सदैव समर्पित रही नेपाली भाषा साहित्यको संवद्र्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका धनराज गिरीलाई ५० हजार रुपैयाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको संस्थाका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिएका छन् । डा.वानीरा गिरीका सम्मानमा स्थापित यी पुरस्कारहरू डा. गिरीको ८३ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा वितरण गरिनेसमेत बताइएको छ ।