काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीले निर्वाचनमा ठूलो धक्का खाएको भन्दै यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्ने बताएका छन् । उनले अब समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्ने बताएका छन् । फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने उनले आवश्यकता औंल्याएका छन् ।
उनले समीक्षामार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न समाधान हुने विश्वास दिलाएका छन् । त्यसका लागि उनले राय, सुझाव तथा टिप्पणी पठाउन अनुरोध गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
देश तथा प्रवासमा रहनु भएका नेकपा एमालेका कमरेडहरू, बुद्धिजीवी मित्रहरू, दाजुभाइ तथा दिदीबहिनीहरू,
हार्दिक अभिवादन।
वि.सं. २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ। निर्वाचनको परिणामले एमालेलाई ठूलो धक्का लागेको छ। नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र सुदृढ संगठन भएको पार्टी किन यस्तो अवस्थामा पुग्यो? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ। समीक्षा आग्रहभन्दा माथि उठेर गरिनु पर्दछ।
फेरि पनि एमालेको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पका साथ अघि बढ्नु पर्दछ। समीक्षामार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न समाधान हुनेछ। यसका लागि निम्न विषयमा राय, सुझाव तथा टिप्पणी पठाउन अनुरोध गर्दछु।
१. निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन–कुन कारणहरू होलान्? किन? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेन्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारणहरू उल्लेख गर्नुहोस्।
२. एमालेको रूपान्तरणका लागि कुन–कुन पक्षमा के–के सुधार गर्नुपर्ला? सुधारका प्रस्तावहरू सहित रूपान्तरणको विधि र प्रक्रियाबारे सुझाव दिनुहोस्।
३. एमालेका सबल र कमजोर पक्षहरू तथा यसको सम्भावना के–कस्तो देख्नुहुन्छ?
तपाईंका सुझावहरू निम्न ठेगानामा प्रेषित गर्न अनुरोध गर्दछु:
Email: [email protected]
WhatsApp: +977 9851023656
योगेश भट्टराई
उपमहासचिव, नेकपा एमाले




प्रतिक्रिया