काठमाडौँ, ९ चैत । पश्चिम एसियामा बढ्दै गएको सैन्य तनावका कारण नेपाल आउने विदेशी पर्यटकको आगमनमा असर पर्न थालेपछि नेपाल पर्यटन बोर्डले वैकल्पिक रणनीति बनाउन सुरु गरेको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार दुबई र दोहा जस्ता प्रमुख ट्रान्जिट रुट प्रभावित भएपछि इस्तानबुल, भारत, हङकङ, चीन तथा दक्षिणपूर्वी एसियाका सहरहरूलाई वैकल्पिक मार्गका रूपमा प्रवर्द्धन गर्न थालिएको छ।
बोर्डले ट्राभल एजेन्सी र अन्तर्राष्ट्रिय वायुसेवासँग समन्वय गर्दै ‘रि–रुटिङ’ र बजार विविधीकरणको योजना अघि बढाएको छ।
साथै, नेपालमा राजनीतिक स्थिरता कायम रहेको, मौसम अनुकूल रहेको र पर्यटकीय गतिविधि निर्बाध रूपमा सञ्चालन भइरहेको सकारात्मक सन्देश विश्वबजारमा पठाइँदै आएको छ। सन् २०२६ मा पर्यटक आगमन २०–२५ प्रतिशतले बढाउने लक्ष्यसहित बोर्डले विशेष गरी एशियाली र छिमेकी देशहरूतर्फ प्रचार–प्रसारलाई तीव्र बनाएको जनाएको छ।




प्रतिक्रिया