गाडीमा जोरबिजोर प्रणाली कहिलेदेखि?


काठमाडौं, चैत १० । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । मध्यपूर्वका देशहरुमा जारी युद्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गर्ने गृहकार्यमा सरकार लागेको हो ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, यातायात व्यवस्था विभागले यातायात व्यवसायीसँग छलफल गरेको छ । मन्त्रालयका अनुसार सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने विषयमा छलफल भए पनि कहिलेदेखि लागु गर्ने भनेर निर्णय भइनसकेको छैन् ।

मध्यपूर्वको तनावले विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गर्छ । यसअघि इन्डियन आयल कर्पोरेसन (आइओसी) ले गत साता पठाएको मूल्य अनुसार पेट्रोल लिटरमा ३१, डिजेल ५४ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २१६ रुपैयाँ मूल्य बढेर आएको थियो । निगमले पेट्रोलमा १५ र डिजेलरमटितेलमा १० रुपैयाँ मूल्य बढाएको छ ।