२४ जना प्रहरी आफूखुसी गैरहाजिर, ७ दिन भित्र सम्पर्कमा आउन निर्देशन


काठमाडौं, चैत १० । नेपाल प्रहरीका २४ जना प्रहरी कर्मचारी लामो समयदेखि गैरहाजिर रहेका छन्। प्रहरी प्रधान कार्यालयले आज सूचना सार्वजनिक गर्दै आफूखुसी कार्यालयमा गैरहाजिर उनीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

उनीहरूको खोजतलास गर्दा-गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।