गगनको अध्यक्षतामा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं, चैत १० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार आजको

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । यसअघि आइतबार बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो । आजको बैठकमा सभापति गगन थापा सहभागी हुने जनाइएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिनुभएको राजीनामालाई आइतबार सम्पन्न बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो । अब पार्टीको सम्पूर्ण ध्यान १५ औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय बैठकले गरेको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन र साङ्गठनिक पुनर्संरचना गरिने कांग्रेसले जनाएको छ ।