सुदन गुरुङलाई मन्त्री बनाउन रास्वपा नेतृत्व सकारात्मक, कुन मन्त्रालय पाउलान् ?


काठमाडौं, १० चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह यही चैत्र १३ गते प्रधानमन्त्री बन्दैछन् । उनले रामनवीको अवसर पारेर आफ्नो शपथको लागि मिति तय गरेको बताईन्छ । रास्वपाले १८ सदस्यभन्दा बढि नहुनेगरि मन्त्रिपरिषद् बनाउने चुनावी वाचा गरेअनुसार नै बालेनले मन्त्रिमण्डल बनाउने भएका छन् ।

उनी यतिवेला मन्त्रिमण्डल गठनको गृहकार्यमा जुटेका छन् । रास्वपाका नेतृत्व तहका नेताहरु यसअघि नै सरकार गठनको गृहकार्यमा जुटिसकेका थिए । बालेनले आफ्नो टिम बनाउन पछिल्ला दिनमा मेहनत गरेका छन् । सुरुमै डेलिभरी दिनेगरि शाहले सरकारमा मन्त्रीहरु सहभागी गराउन चाहेका छन् ।

रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्लेको नाम अर्थ मन्त्रालयको नेतृत्वमा तय भएको बताईन्छ । तर, गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा अझै सहमति नबनेको बताईन्छ । बालेनले गृह मन्त्रालयको नेतृत्वमा सुनिल लम्साललाई अघि सारेको बताईन्छ । शाह काठमाडौं महानगरको प्रमुख हुँदा लम्सालले विश्वासपात्रको रुपमा सहयोग गरेको बताईन्छ । तर, सभापति रवि लामिछानेले भने गृह मन्त्रालयमा अर्का उपसभापति डिपी अर्यालको नाम सारेको बताईन्छ । अहिले गृहमन्त्रालयको नेतृत्वमा नाम तय नभईसकेको बताईन्छ ।

जेनजी आन्दोलनमा अगुवाको छवि बनाएका सुदन गुरुङपनि मन्त्री बन्ने चर्चा छ । उनलाई युवा तथा खेलकुदमन्त्री बनाईनेगरि एकसरो छलफल चलेको बताईन्छ । उनी गोरखा–१ बाट निर्वाचित भएका हुन् । रास्वपाले चैत्र १२ गते शाहलाई दलको नेता बनाउने भएको छ। त्यसअघि नवनिर्वाचित प्रतिनिधिसभाहरुको शपथ राखिएको छ । सो शपथलगत्तै रास्वपाको बैठक बसेर दलको नेता चयन गरिने भएको हो । चैत्र १३ गते बालेनले प्रधानमन्त्रीको शपथ खाने र त्यही दिन पूर्ण क्षमताको मन्त्रिमण्डल गठन गर्नेगरि तयारी गरेका छन् ।