झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार पसारमा रोक


काठमाडौँ, १० चैत । झापाको दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा जारी सूचनामा सङ्क्रमण थप फैलिन नदिन प्रभावित स्थानीय तहहरूबाट पक्षी, अण्डा, दाना र अन्य पक्षीजन्य सामग्री अन्यत्र लैजान पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ ।