सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रष्ट पार्दछु : कुलमान घिसिङ


काठमाडौं, १० चैत्र । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्न लागेको बालेन शाह नेतृत्वको सरकारमा आफ्नो नाम जोडेर सहभागिता हुन लागेको भन्ने मिडिया र सोसल मिडियामा भएको चर्चाप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् । उनले जनताबाट प्राप्त जनादेशविपरित अन्य कुनैपनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पनासमेत गर्न नसकिने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-

नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन। यस सन्दर्भमा, सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रष्ट पार्दछु । हामी चुनावी परिणामलाई सम्मान गर्दै, त्यसबाट पाठ सिक्दै, उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौं। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ। हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु ।