काठमाडौं, चैत ११ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट एक समारोहकाबीच सांसदको पद तथा गोपनियताको शपथ लिन लिएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि भोली चैत १२ गते अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सभाको पहिलो बैठकको अध्यक्षता पनि केसीले नै गर्नेछन् । सोही बैठकले सभामुख र उपसभामुखको निर्वाचन तालिका तय गर्ने सम्भावना छ । सांसदहरुको भोलीको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार गरिरहेको छ ।
१२ गते सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी समेत शुरु भएको छ । उनले शीतल निवासमै शपथ लिने तयारी गरिएको छ । बालेनलाई रास्वपाले सम्भवत विहिबार संसदीय दलको नेता चयन गरेर औपचारिकता पुरा गर्ने छ । रास्वपाले यसअघि नै बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने बताएको छ ।




प्रतिक्रिया