काठमाडौं, ११ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको एउटा महत्वपूर्ण निर्णय होल्ड गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको लागि गृहमन्त्रीको जिम्मेवारीमा रहेका ओमप्रकाश अर्यालको नाम सिफारिश गरेकी थिईन् । तर, अहिलेसम्म उक्त सिफारिश राष्ट्रपतिको कार्यालयबाट अनुमोदन भएको छैन ।
अर्याललाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय शीतलनिवासले होल्ड गरेको भन्ने चर्चा छ । तर, राष्ट्रपतिले भने यो सिफारिश नै युक्तिसंगत नभएको निश्कर्ष निकालेका छन् । अर्यालको सिफारिशविरुद्ध अदालतमा मुद्दा दायर भएकोले पनि राष्ट्रपतिले उक्त सिफारिशलाई होल्डमा राखेको बताईन्छ। प्रधानमन्त्री कार्की चैत्र १३ गते बालुवाटारबाट विदा हुँदैछिन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुने र शपथ खाने तय भएकोले प्रधानमन्त्री कार्कीले बालुवाटारको सरकारी निवास खालीसमेत गरिसकेको जनाईएको छ । राष्ट्रियसभामा अर्यालको नाम सिफारिश भएको १० दिन बितिसक्दापनि राष्ट्रपतिले भने यो सिफारिशलाई अझै होल्डमा राखेकोमा बालुवाटारसमेत असन्तुष्ट बनेको छ ।
अर्याल लाभको पदमा रहँदै गर्दा राष्ट्रियसभामा सिफारिश भएको विषयमा सार्वजनिक रुपमा पनि आलोचना भएको छ । अब बन्ने सरकार प्रमुख बालेन शाहले पनि अर्यालको नाममा असहमति राखेको बताईन्छ । बालेन राष्ट्रियसभाको मनोनित सदस्यको लागि आफ्नो क्याविनेटबाट नाम सिफारिश गर्न चाहन्छन् ।




प्रतिक्रिया