बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत बजारबाट खिच्ने भएको छ।

राष्ट्र बैंकले २१ दिनका लागि दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ, जसमा न्यूनतम १० करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँको गुणकमा रकमका लागि आवेदन दिन सकिनेछ। बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।

यस निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी आगामी बैशाख २ गते हुने राष्ट्र बैंकले जनाएको छ। साथै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्।