काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको लोकतान्त्रिक छवि अझै उज्यालो बनाएको बताएकी छिन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले निर्वाचनको दौरान अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त व्यापक समर्थन र सहयोगका लागि आभारसमेत प्रकट गरिन् ।
उनले निर्वाचनको सम्पूर्ण प्रक्रियामा सहयोग पुर्याउने निर्वाचन प्रहरीदेखि सबै सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारहरू, सञ्चार माध्यम, नागरिक समाज, अन्तर्राष्ट्रिय विकास साझेदार तथा सबै सरोकारवाला पक्षप्रति आफ्नो व्यक्तिगत तथा नेपाल सरकारको तर्फबाट उच्च सम्मान र कृतज्ञता पनि व्यक्त गरिन् ।
यस्तो छ प्रधानमनत्री कार्कीको सम्बोधन
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको मन्तव्य
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,
माननीय मन्त्रीज्यूहरू,
राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्षज्यू,
माननीय न्यायाधीशज्यूहरू,
राजनीतिक दलका प्रतिनिधिज्यू,
संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीज्यूहरु,
नेपाल सरकारका मुख्य सचिवसहित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी,
प्रधानसेनापतिसहित सबै सुरक्षा अंगका प्रमुखज्यूहरु,
सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू,
सञ्चारकर्मी मित्रहरू,
र यहाँ उपस्थित सम्पूर्ण आदरणीय अतिथिहरू,
सबैमा हार्दिक अभिवादन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा आयोजित यस कार्यक्रममा उपस्थित हुन पाउँदा मैले अत्यन्तै गर्व र हर्षको महसुस गरिरहेकी छु।
यस कार्यक्रमको आयोजनाका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोग परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु।
गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पश्चात् देशले एक जटिल र चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपरेको यहाँहरु सबैलाई विदितै छ।
त्यस विषम परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूबाट फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा भएको थियो।
असामान्य अवस्थालाई सामान्यीकरण गर्दै तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्नु हाम्रो लोकतान्त्रिक यात्राको एक ऐतिहासिक उपलब्धि हो।
यस निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य-मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको छ।
यस निर्वाचनमार्फत आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिनुभएको छ।
वर्तमान सरकार गठन हुँदा पाएको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु थियो।
तर हामीले यो जिम्मेवारी लिँदा देशको सुरक्षा अवस्था संवेदनशील थियो। सुरक्षाकर्मीका हतियार खोसिएका थिए। राजनीतिक दलहरूबीच संवादहीनता थियो। समग्रमा एक प्रकारको कानुनी र राजनीतिक शून्यता थियो ।
यी सबै परिदृश्यका बीच ६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा ल्याइछाड्ने प्रतिबद्धताका साथ हामीले यो जिम्मेवारी लिएका थियौँ, जुन सहज कार्य थिएन।
तर, सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा समर्पित गर्यो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूको कुशल नेतृत्वमा निर्वाचन आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ यो कार्यलाई सफलताको उचाइमा पुर्याएको छ।
यो कार्य कति चुनौतीपूर्ण थियो भन्ने हामीलाई राम्रोसँग हेक्का छ। र तपाईँहरुले यसबीचमा अनेकौँ बाधा, विरोध र टिप्पणीहरु झेलेर भए पनि देशको भविष्य सुरक्षित गर्न एउटा राष्ट्रिय अभिभारा पूरा गर्नुभएको छ।
यसका निम्ति म सम्पूर्ण देशवासीका तर्फबाट तपाईँहरुलाई सलाम गर्दछु । [उहाँहरुको सम्मानमा ताली बजाइदिन यहाँ उपस्थित सबैमा अनुरोध गर्दछु]
यसपालि हामीले केवल एक थान निर्वाचन मात्र गराएका छैनौँ। सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा एउटा मानक नै स्थापित गर्न सफल भएका छौँ।
विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ। निर्वाचन घोषणापश्चात् पनि मतदाता नामावलीमा नाम दर्ता गर्ने अवसर प्रदान गरी ठूलो संख्यामा युवा मतदातालाई समेट्न सफल भयौँ।
राष्ट्रिय परिचयपत्रको तथ्यांक प्रणालीसँग अन्तरआबद्धता गरी मतदाता दर्ता प्रक्रिया सहज बनायौँ।
मौज्दातमा रहेका सामग्रीको पुनः प्रयोग गर्यौँ। उपलब्ध भएसम्मका सबै स्वदेशी सामग्री उपयोग गर्यौँ।
त्यसैगरी, आयोगले सरकारी निकायमार्फत सामग्री खरिद गर्ने नीति अवलम्बन गरेको पाइयो।
तसर्थ मितव्ययितामा पनि एउटा ऐतिहासिक नजिर कायम गर्न सकेका छौँ।
निर्वाचन खर्च पारदर्शी बनाउन अलग्गै बैंक खाता सञ्चालन, सामाजिक सञ्जालको प्रभावकारी अनुगमन र आचार संहिता उल्लंघन हुन नदिन कडा निगरानी गरेर आयोगले उच्च व्यावसायिकता प्रदर्शन गरेको छ।
सुरक्षा व्यवस्था सुदृढ गरेर कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नै आउन दिएनौँ। यसै कारण निर्वाचनसम्बन्धी विवादहरू नगण्य रहे। समग्रमा निर्वाचन व्यवस्थापनको उच्च स्तर प्रदर्शन गर्न हामी सफल भयौँ।
यो सफलताको श्रेय मूलतः निर्वाचन आयोग र सुरक्षा निकायलाई जान्छ।
आगामी चुनावहरुमा यही मानक कायम राख्न मात्र सक्यौँ भने पनि हाम्रो लोकतन्त्रलाई सुसंस्कृत र समृद्ध चरणमा पुर्याउन सक्नेछौँ।
यसका अतिरिक्त, यस निर्वाचनले अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको लोकतान्त्रिक छवि अझै उज्यालो बनाएको छ भन्ने विश्वास लिएका छौँ। र, यस यात्रामा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त व्यापक समर्थन र सहयोगका लागि आभार प्रकट गर्दछु।
यस सम्पूर्ण प्रक्रियामा सहयोग पुर्याउने निर्वाचन प्रहरीदेखि सबै सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारहरू, सञ्चार माध्यम, नागरिक समाज, अन्तर्राष्ट्रिय विकास साझेदार तथा सबै सरोकारवाला पक्षप्रति म व्यक्तिगत तथा नेपाल सरकारको तर्फबाट उच्च सम्मान र कृतज्ञता व्यक्त गर्दछु।
नवनिर्वाचित सम्पूर्ण जनप्रतिधिनिहरुलाई बधाई र सफल कार्यकालका लागि शुभकामना।
अन्त्यमा, म पुनः एकपटक निर्वाचन आयोग तथा यस ऐतिहासिक कार्यमा संलग्न सम्पूर्ण पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा पनि लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रवर्द्धन र समृद्ध नेपालको निर्माणमा सबैको सहकार्य रहने विश्वास व्यक्त गर्दछु।
धन्यवाद।
२०८२ चैत ११, काठमाडौँ ।




प्रतिक्रिया