नवनिर्वाचित २७४ जना सांसदको शपथ आज, ५४ जनाले रोजे मातृभाषा


काठमाडौं, चैत १२ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार आज अपराह्न २ः०० बजे प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका केसीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा शपथ ग्रहण गराउन लागेका हुन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्वाचित सदस्यको शपथका लागि प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ । विवरण समावेश गर्नुपर्ने भएकाले शपथग्रहण हुनुभन्दा दुई घण्टाअगावै नवनिर्वाचित सदस्य सिंहदरबारमा पुगिसक्नुपर्ने जनाउदै उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको बताए ।

सो व्यवस्थाबमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्ने केसीले नवनिर्वाचित सदस्यलाई शपथ गराउन लागेको उनले जानकारी दिए । आज शपथ लिन छुटेका सदस्यको अनुकूलता अनुसार सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले शपथग्रहण गराउने व्यवस्था मिलाइएको छ । प्रवक्ता गिरीका अनुसार आज ५४ जनाले मातृभाषामा शपथ लिदैछन् ।