आज दलको नेता, भोलि प्रधानमन्त्री बन्दै बालेन


काठमाडौं, चैत १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज वरिष्ठ नेता बालेन शाहलाई पार्टीको संसदीय दलको नेता चयन गर्दैछ । नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपाले आज दलको नेता चयन गरेपछि शाहले भोली दिउँसो प्रधानमन्त्री पदको शपथ लिने छन् ।

प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई पठाएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले भोली प्रधानमन्त्रीसँगै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ ।

बालेनले आज दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे बस्ने रास्वपा केन्द्रीय समिति बैठकमार्फत विधानमा भएको अवरोध हटाएर संसदीय दलको नेता चयन गरिनेछ ।

त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । शुक्रबार दिउँसो १२ः३४ बजे राष्ट्रपति पौडेलले बालेन्द्रलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् । शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।