सभामुखसँग शपथ लिनुअघि राप्रपाका चार सांसद पशुपतिनाथ मन्दिरमा, ताहिर अली काश्मिरी मस्जिदमा


काठमाडौं, १२ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिनुअघि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकतर्फ ४ जना सांसद जितेका छन् । पशुपतिनाथ दर्शन गरेपछि सांसद खुश्बु ओलीले आफूहरुले पशुपतिनाथ मन्दिरमा पुगेर आफ्नो आस्थाअनुसार शपथ लिएको स्पष्ट लिएको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘आज औपचारिक शपथ ग्रहण अघि हामी राप्रपाका चार जना सांसदले पशुपतिनाथ मन्दिरमा पुगेर आफ्नो आस्था अनुसार शपथ लियौं। साथै इस्लाम धर्म मान्ने माननीय ताहिर अलीज्यूले काश्मिरी मस्जिदमा गई शपथ लिनुभयो। यो केवल औपचारिकता होइन, हाम्रो सिद्धान्तको व्यवहारिक अभिव्यक्ति हो। राप्रपाले सधैं उठाउँदै आएको ‘धार्मिक स्वतन्त्रता सहितको बौद्ध, किराँत र सनातन हिन्दू मूल्यमा आधारित हिन्दुराष्ट्र’ को अवधारणा यही हो(आफ्नो आस्थामा दृढ रहँदै अरूको आस्थाको सम्मान। हाम्रो दृष्टिकोण विभाजन होइन, सहअस्तित्व हो। विरोध होइन, सम्मान हो। यही नेपालको मौलिक पहिचान हो, र यही पहिचानलाई संस्थागत गर्ने हाम्रो अडान हो।’