एउटा कलाविहीन नाटकको प्रदर्शन, जसको स्क्रिप्ट कार्की श्रीमानले भदौ २४ मै लेखिसक्नुभएको थियो : प्रदीप ज्ञवाली


काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा भदौ २३ गतेको गोली प्रहारको विस्तृत चर्चा गरिएको भएपनि भदौ २४ गतेको विध्वंस र राष्ट्र दहनबारे प्रतिवेदन रहस्मय रुपमा मौन बसेको टिप्पणी गरेका छन् । ज्ञवालीले फेशबुकमार्फत भनेका छन्–‘भदौ २३ को गोलीप्रहारको विस्तृत चर्चा, तर भदौ २४ को विध्वंस र राष्ट्र दहनबारे प्रतिवेदन रहस्यमय रूपमा मौन। भदौ २३ मा बलप्रयोग गरेर भए पनि संसद भवन बचाउन प्रयाश गर्ने सुरक्षाकर्मीमाथि पनि कारबाही सिफारिस, भदौ २४ मा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन लगायत सार्वजनिक सम्पत्ति जोगाउन बलप्रयोग नगरेकोमा पनि उनीहरूमाथि कारबाहीको सिफारिस । तत्कालीन राजनीतिक, प्रशासनिक र सुरक्षा नेतृत्वमाथि अनुसन्धान र अभियोजन गर्नै बाँकी, तर कानुनको दफा नै तोकेर कारबाहीको सिफारिस ।’

बहुचर्चित ‘कार्की आयोग’ को प्रतिवेदन:
भदौ २३ को गोलीप्रहारको विस्तृत चर्चा, तर भदौ २४ को विध्वंस र राष्ट्र दहनबारे प्रतिवेदन रहस्यमय रूपमा मौन।
भदौ २३ मा बलप्रयोग गरेर भए पनि संसद भवन बचाउन प्रयाश गर्ने सुरक्षाकर्मीमाथि पनि कारबाही सिफारिस, भदौ २४ मा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन लगायत सार्वजनिक सम्पत्ति जोगाउन बलप्रयोग नगरेकोमा पनि उनीहरूमाथि कारबाहीको सिफारिस ।
तत्कालीन राजनीतिक, प्रशासनिक र सुरक्षा नेतृत्वमाथि अनुसन्धान र अभियोजन गर्नै बाँकी, तर कानुनको दफा नै तोकेर कारबाहीको सिफारिस ।
पत्रकारको योग्यता, संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् गठन लगायत क्षेत्राधिकारसँग सम्बन्धै नभएका या कम महत्व राख्ने विषयमा निबन्ध लेख्न पर्याप्त समय भयो,
तर शान्तिपूर्ण प्रदर्शनलाई निषेधित क्षेत्र तोडेर संसद परिसरसम्म पुर् याउने र हिंसात्मक बनाउने घुसपैठियाहरू को थिए र २४ गते विभिन्न रासायनिक पदार्थको मिश्रणबाट मोलोतोभ ककटेल बनाएर सार्वजनिक र निजी सम्पत्ति खरानी बनाउनेहरू को थिए- खोज्न समय पुगेन ।
अर्थात्- एउटा कलाविहीन नाटकको प्रदर्शन, जसको पटकथा ( स्क्रिप्ट) कार्की श्रीमानले भदौ २४ मै लेखिसक्नु भएको थियो ।
त्यसैले कार्की श्रीमानको निष्कर्षमा त कुनै विस्मय लागेन, तर झण्डै ३० वर्ष प्रहरी सङ्गठनमा बिताएका अधिकृत र कानुनका जानकारहरू समेतले ‘जाँचबुझ’, ‘अनुसन्धान’ शब्द र राष्ट्रिय सुरक्षाकै धज्जी उडाउने यस्तो कागजमा कसरी हस्ताक्षर गर्नुभए होला ?