काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २१ फागुनको निर्वाचनको परिणाम अस्वाभाविक र जादुमयी रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने,‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन, तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’
उनले एमालेविरोधीहरुले कुप्रचार गरेर घृणाको राजनीति गरेको पनि समिक्षा सुनाए । उनले घृणाको राजनीति गर्ने भनेर रास्वपाप्रति संकेत गरे । उनीहरुलाई धेरैतिरको सहयोग भएको पनि ओलीको आरोप छ । उनले एमालेभित्रको एकता आजको आवश्यकता औंल्याए । तर, अहिले पार्टीभित्र अनेक विषय निकालिनु गलत हुने उनको तर्क छ । एमाले अहिलेपनि तेस्रो ठूलो शक्ति भएको भन्दै अहिले गहिरो शिक्षा लिएर देश र जनताको लागि पार्टी पँक्ति सक्रिय हुनुपर्नेमा उनको जोड छ ।
सो क्रममा उनले आफूहरुले राम्रो काम गर्दागर्दै प्रहार भएको भनेर टिप्पणी गरेका छन् । उनले भने,‘हामी नराम्रो कामबाट पछाडि परेका, पारिएका होइनौं। राम्रो कामबाट हामीमाथि हमला भयो। त्यसकारण हामी हतास हुनुपर्ने, हरेश खानुपर्ने, कुनै आवश्यकता छैन। मनोबल गिराउनुपर्ने कुनै आवश्यकता छैन। हामी उच्च मनोबलका साथ अगाडि बढ्दै जानुपर्छ। किनभने हामी सत्यको पक्षमा छौं। सत्यको मार्गमा छौं ।’





प्रतिक्रिया