जाँचबुझ आयोगको प्रतिवेदनबारे नेपाल बार एशोसिएशनको असहमति, यस्तो छ विज्ञप्ति


काठमाडौं, १२ चैत्र । नेपाल बार एशोसिएशनको सल्लाहकार समितिको बैठकले भदौ २३ र भदौ २४ गतेको घटनाका सम्बन्धमा छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर असहमति प्रकट गरेको छ ।

समितिको आज (बिहीबार) बसेको बैठकले कार्की आयोगको प्रतिवेदन भनी विभिन्न सञ्चार माध्यममार्फत प्रकाशित प्रतिवेदन प्रथम दृष्टिमै आयोगको तोकिएको कार्यक्षेत्र बाहिर गई शक्ति विभाजनको सिद्धान्तलाई समेत अनदेखा गरी ‘सर्वोच्च अदालतको सबै न्यायाधीशको पूर्ण इजलासले संविधान र कानून आफैंले संशोधन गर्न सक्नुपर्दछ’ भन्नेलगायतको प्रतिवेदनको विषयहरुप्रति नेबाएको प्रारम्भिक रुपमै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

वरिष्ठ अधिवक्ता समेत रहेका महासचिव केदार प्रसाद कोइरालाले विज्ञप्ति जारी उक्त कथन स्वतन्त्र न्यायपालिकाको मूल मर्म र भावनाविपरितको उल्लेख गर्दै असहमति प्रकट गरेका छन् । स्वतन्त्र न्यायपालिका र स्वतन्त्र कानून व्यवसायमा समेत प्रभाव पार्ने व्यहोराहरु उक्त प्रतिवेदनमा पर्न गएको जानकारी हुन आएकोले सो विषयमा प्रधानन्यायाधीशमार्फत सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को ध्यानाकार्षणसमेत गराएको छ ।