राष्ट्रपति र उपराष्ट्रपतिद्वारा रामनवमी पर्वको शुभकामना


काठमाडौं, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवङ भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मदिनका रूपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत, अनुष्ठान र जप आदि गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको छ । शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास राष्ट्रपति पौडेलको रहेको छ ।

त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि पर्व रामनवमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले आज एक सन्देश जारी गर्दै रामनवमी पर्व धार्मिक उत्सवमात्र होइन, सत्य, धर्म र मर्यादाका प्रतीक भगवान् श्रीरामको जीवन आदर्शलाई आत्मसात् गर्ने अवसर भएको उल्लेख गरेका छन् । “श्रीरामले समाजमा न्याय, सद्भाव र शान्ति स्थापना गर्दै कर्तव्यपालनको सर्वोच्च उदाहरण प्रस्तुत गर्नुभएको थियो । उहाँको जीवनले हामीलाई सत्य, निष्ठा, धर्मपालन, अनुशासन र नैतिक आचरणलाई जीवनको आधार बनाउन सदैव प्रेरित गर्दछ ।” जारी संदेशमा उनले उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले रामनवमीका अवसरमा गरिने भजनकीर्तन, पूजापाठ र उपासनाले नागरिकलाई भक्ति, अध्यात्म र परोपकारतर्फ उन्मुख गराउने उल्लेख गर्दै यस पर्वले समाजमा सद्भाव, सहयोग, भाइचारा र जनकल्याणको भावनालाई जागृत गर्ने विश्वास व्यक्त गरेका छन् ।

रामनवमी भगवान् श्रीरामको जन्म दिवसमात्र नभई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रूपमा पनि लिइन्छ । यस दिन मुलतः देशका विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ ।