बालेनका १५ जना सारथि, दोस्रो वरियतामा वाग्ले


काठमाडौं, चैत १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बरिष्ठ नेता बालेन शाहको मन्त्रिमण्डल १५ सदस्यीय हुने भएको छ ।
रास्वपा उच्च स्रोतका अनुसार उपसभापति डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाएको छ । वाग्लेलाई मन्त्रिपरिषद्मा दोस्रो वरियतासहित अर्थमन्त्रीको जिम्मेवारी दिइएको जनाइएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.वाग्ले प्रधानमन्त्री बालेन्द्र शाह पछिको दोस्रो वरियतामा रहनेछन् ।

यस्तै, सभामुखमा पार्टीका उपसभापति डीपी अर्याललाई पठाउने तयारी गरेको रास्वपाले परराष्ट्रमन्त्रीमा शिशिर खनाल, गृहमन्त्रीमा सुदन गुरुङ, उद्योगमा अमरेश कुमार सिंह र कानुनमन्त्रीमा सोबिता गौतम नियुक्तीको चर्चा छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमा सुनिल लम्साल, भूमि तथा सहकारी र सामान्य प्रशासनमा प्रतिमा रावल, उर्जामा विराजभत्त श्रेष्ठ, शिक्षामा संस्कृत पोखरेल, पर्यटनमा गणेश पौडेल र महिला तथा बालबालिकामा सिता वादीको नाम सिफारिस गर्ने तयारी रहेको छ ।

यस्तै, रास्वपाले कृषिमन्त्रीमा गिता चौधरी, सञ्चार तथा सुचना प्रविधिमन्त्रीमा बिक्रम तिमिल्सिना, श्रम रोजगार तथा सामाजिक सुरक्षामा दीपक शाह र निशा मेहतालाई स्वास्थ्यमन्त्री बनाउन लागेको छ । रास्वपाले शपथका लागि मन्त्रीहरुको नाम तय गरिसकेको छ । तर, आधिकारिक सार्वजनिक गरेको छैन् ।