काठमाडौं, १३ चैत्र । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको प्रतिष्ठा अझै उँचो बनाउने यात्रामा इमानदारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भनेका छन्–‘सम्पूर्ण नेपाली जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। त्यो विश्वासलाई कहिल्यै टुट्न नदिने संकल्पका साथ, पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नेछु। संवाद, सहकार्य र समन्वयमार्फत नेपालको प्रतिष्ठा अझ उचो बनाउने यात्रामा इमान्दारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।’
खनालले मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएपछि सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले लेखेका छन्–
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
आज मैले सम्माननीय राष्ट्रपतिज्यूबाट परराष्ट्र मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छु। ममाथि विश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
यो अवसरलाई मैले केवल पदका रूपमा होइन, नेपालको सार्वभौमसत्ता, गरिमा र राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्ने गम्भीर दायित्वका रूपमा ग्रहण गरेको छु। आम नागरिकका अपेक्षाहरूलाई आत्मसात गर्दै, नेपालको राष्ट्रिय हित र कूटनीतिक मर्यादालाई उच्च राख्न म पूर्ण प्रतिबद्धताका साथ लाग्ने प्रण गर्दछु।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाजलाई स्पष्ट, सन्तुलित र प्रभावकारी रूपमा प्रस्तुत गर्दै, द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई सुदृढ बनाउने दिशामा अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु। कूटनीतिलाई परिणाममुखी, विश्वसनीय र उत्तरदायी बनाउनेतर्फ निरन्तर प्रयास रहनेछ।
सम्पूर्ण नेपाली जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। त्यो विश्वासलाई कहिल्यै टुट्न नदिने संकल्पका साथ, पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नेछु। संवाद, सहकार्य र समन्वयमार्फत नेपालको प्रतिष्ठा अझ उचो बनाउने यात्रामा इमान्दारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु।
ममाथि विश्वास गरी यो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएकोमा पुनः सबैमा हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद। जय देश !
शिशिर खनाल
परराष्ट्र मन्त्री, नेपाल सरकार
file photo




प्रतिक्रिया