नवनियुक्त प्रधानमन्त्री शाहलाई कुलमान घिसिङको शुभकामना, सरकारलाई सुझाव दिन तयार


काठमाडौं, १३ चैत्र । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गर्नुको साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले सुशासनको मागसहित जेनजी पुस्ताले सुरु गरेको आन्दोलनका जगबाट प्राप्त जनादेशको आधारमा गठन भएको वर्तमान सरकारबाट संविधान, शासन प्रणाली तथा राज्य संरचनालाइृ थप नागरिकमैत्री बनाउने विश्वस लिएका छन् । उनले सरकारलाइृ आवश्यक सल्लाह तथा सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न आफ्नो पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

उनले फेशबुक पेजमा लेखेका छन्–

प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
सुशासनको मागसहित जेन–जी पुस्ताले शुरू गरेको आन्दोलनको जगबाट प्राप्त जनादेशका आधारमा गठन भएको यस सरकारबाट संविधान, शासन प्रणाली तथा राज्य संरचनालाई थप नागरिकमैत्री बनाउने, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, र पूर्वाधार विकासलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। सुशासन, समृद्धि र सामाजिक न्यायसहितको नेपाल निर्माणमा यो सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु। साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको छ।