प्रधानमन्त्री शाहलाई ऋषि धमलाको सुझाव : तपाईंलाई जनताले एक्शन–ओरिएण्टेड प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका छन्, हामी सरकारलाई सफल बनाउन सहयोग गर्छौं
काठमाडौं, १३ चैत्र । ऋषि धमलाको नेतृत्वमा ५१ सदस्यीय स्वतन्त्र नागरिक समूह नेपाल घोषणा गरिएको छ । ‘समयमा काम, तत्काल परिणाम’ मूल नारा दिएर यो समूह घोषणा गरिएको हो । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त समूहको घोषणा गरिएको छ । यसको अध्यक्ष ऋषि धमला र सचिवमा भने हेमराज अधिकारी रहेका छन् । यो समूहले बालेन शाह नेतृत्वको वर्तमान सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ। नयाँ सरकारसँग मिलेर काम गर्ने भनेर अभियानले ३१ बुँदामा समेटेर सहयात्रापत्र पनि तयार पारेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ऋषि धमलाले आजको दिन मुलुकको लागि ऐतिहासिक दिन भएको पनि स्मरण गराए । अब मुलुक विकास र समृद्धिको यात्रामा अघि बढ्ने सुरुवातको दिन भएको भन्दै उनले आजको दिनलाई विशेष मानेका छन् । उनले राणाकालिन प्रधानमन्त्री जंगबहादुर राणा र प्रजातान्त्रिक कालमा विपी कोइरालाको प्रधानमन्त्री कालपनि स्मरण गराए । आज युवा नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेको भन्दै देशभरिका जनता खुशी बनेको र उत्साही रहेको धमलाको भनाई छ । उनले भने,‘मैले पनि देशभरिका जनतासँग कुरा गरेको छु, उहाँहरु खुशी हुनुहुन्छ, अब त देशमा केही हुन्छ भनेका छन्, यो सरकारले जनताको चाहनाअनुसार काम गर्नुपर्छ । आजको दिन हामीले पनि एउटा अभियान सुरु गरेका छौं ।’
धमलाले अब जनताले समयमै काम र तत्काल परिणाम खोजेको भन्दै नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई जनताले पनि एक्सन–ओरिएन्टेड प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताए । यो अभियानमा देशभरिका युवा जोडिएको र यसलाई राष्ट्रयव्यापी बनाउने पनि धमलाको भनाई छ । यो अभियानलाई आफूहरुले ७५३ वटै तहमा लैजाने र वडा तहसम्म विस्तार गर्ने पनि उनले योजना सुनाए ।
उनले भने,‘हाम्रो काम भनेको सरकारलाई सहयोग गर्ने हो । जनताको चाहनअनुसार काम गर्न सरकारलाई समर्थन गर्ने र सफल बनाउने हो । जनताको काम गर्नको लागि सरकारलाई घचघचाउने हो । जनादेशबाट बनेको सरकार हो, यो सरकारसँग मिलेर काम गर्नुपर्छ । अहिले सरकारको विरोध गर्ने होईन ।’
उनले पूराना दल र यसका शीर्ष नेताहरुलाई पनि धमलाले वर्तमान सरकारको विरोध नगर्न सुझाव दिए । ३५ वर्ष देशको नेतृत्व गरेका पूराना दलका पूराना नेताहरुले देशलाई सुशासन र विकास नदिएर भ्रष्टाचार र कुशासन दिएको धमलाको आरोप छ । उनीहरुले देशमा भएका उद्योग/धन्दा पनि बन्द गरेको र युवाहरुलाई रोजगारी दिन नसकेको उनको आरोप छ । उनले भने,‘देश बनेन । देश बनाउने अवसर ठूला दल र यसका नेताहरुले पाएकै हो ।’

उनले रास्वपाका सभापति रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाएर राम्रो काम गरेको र लामिछानेले त्याग गरेको भन्दै प्रशंसा गरे । तर, नेपालको इतिहासमा पार्टीभित्रको आन्तरिक द्वन्द्वले कुनैपनि सरकार पाँच वर्ष नटिकेको पनि उनले स्मरण गराए । उनले बालेन शाह नेतृत्वको वर्तमान सरकारले पाँच वर्ष काम गर्न पाउनुपर्ने बताए । आफूहरुको अभियान भनेको देश बनाउने र देश बदल्ने रहेको उनको भनाई छ ।
उनले प्रधानमन्त्री बालेन शाहलाई शिक्षा र स्वास्थ्य निःशुल्क गर्नको लागि निर्णय गर्न पनि सुझाव दिए । उनले अब युवाहरुलाई गाउँगाउँमा विकास पुर्याएर रोजगारी दिनुपर्नेमा बताए । वडा सदस्यदेखि सिंहदरबारको कुर्सीमा बस्ने सबैको सम्पत्ति छानबिन गरेर सार्वजनिक गरिनुपर्ने र अकुत सम्पत्ति कमाउनेहरुको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने उनको भनाई छ । एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पनि बालेन सरकारका सबै मन्त्रीहरुलाई सुझाव दिए । सबै सांसदहरुको सम्पत्ति सार्वजनिक हुनुपर्ने उनको मत छ ।
उनले जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई कारबाही गर्नपनि गृहमन्त्री सुधन गुरुङलाई सुझाव दिए । उनले भने,‘म गृहमन्त्रीजीलाई यही मञ्चबाट आग्रह गर्न चाहन्छु–जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्नुहोस, जाँचबुझ आयोगको प्रतिवेदन पनि आईसकेको छ, यो प्रतिवेदनलाई कार्यान्वयन गर्नुहोस । यसमा ढिलाई नगर्नुहोस ।’ आफूहरु अब अभियान लिएर गाउँगाउँमा जाने पनि धमलाको घोषणा छ ।
धमलाले विगतमा आफूबाट पनि गल्ती तथा कमिमजोरी गरेको भएपनि अब आईन्दा देश बनाउनको लागि गल्ती नगर्ने पनि प्रण गरे । उनले अब देशव्यापी रुपमा अभियान लिएर जाने र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सुझा लिएर काम गर्ने घोषणा गरे ।
अभियानले राष्ट्र निर्माणको लागि ३१ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ । जसलाई बालेन सरकारसँगको सहयात्रापत्र पनि भनिएको छ । प्रतिबद्धतामा बालेन सरकारलाई अवरोध नभई सहयोग गरिनुपर्ने, जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन, शिक्षा र स्वास्थ्य निःशुल्क र समान अवसर, व्यवहारिक शिक्षा र रोजगारीको सुनिश्चितता, सुशासनयुक्त र भ्रष्टाचारमुक्त राज्य, राज्यको नियुक्तिमा योग्यतालाई प्राथमिकता, हरेक पेशामा लाइसेन्स प्रणाली अनिवार्यदेखि निसन्तान दम्पत्तिलाई सहयोगसम्मका कुरा समेटिएका छन् ।







प्रतिक्रिया