ओली-लेखकलाई भद्रकाली पुर्‍याइयो


काठमाडौं, चैत १४ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखेकलाई पक्राउ गरेर प्रहरी परिसर भद्रकाली पुर्याइएको छ । आज बिहान गुन्डुस्थित निवासबाटै पक्राउ परेका ओली र कटुञ्जेबाट पक्राउ परेका लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइएको हो ।

ओलीलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली बिहान ५ बजे गुण्डु पुगेका थियो । पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली राती नै कटुञ्जे पुगेको थियो ।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनसँगै सरकारले तत्कालीन राजनीतिक नेतृत्वलाई चाँडै नै कारबाहीको दायरामा ल्याउने गृहकार्य थालेको छ । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको सिफारिस तत्काल लागू गर्ने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले सुरक्षा संयन्त्रसम्बन्धी विषयमा अध्ययन समिति गठन गर्ने र अन्यको हकमा आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्देशन दिएको छ। यसै आधारमा नयाँ सरकारले ओली र लेखकमाथि फौजदारी मुद्दामा कारबाही अघि बढाउने तयारी गरेको हो । आयोगले ओली र लेखकलाई जेन–जी आन्दोलनको दमनमा मुख्य जिम्मेवार ठहर गरेको छ ।

मन्त्रिपरिषद् बैठकलगत्तै गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालसहित सम्बन्धित अधिकारीसँग उनीहरूको पक्राउबारे करिव दुई घण्टा छलफल गरेका थिए।

जाँचबुझ आयोगले सातजनामाथि मुद्दा चलाउन र अन्य १५ जनामाथि विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र आइजिपी चन्द्रकुवेर खापुङलाई लापरबाहीका कारण ज्यान जाने घटनामा फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ । तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र सिडिओ छवि रिजालमाथि हेलचेक्य्राइँका कारण मुद्दा चलाउन सिफारिस गरिएको छ ।