रोशी खोलाको बाढीले बगाउँदा एक मजदुरको मृत्यु, बिपी राजमार्ग ठप्प


काठमाडौं, चैत १४ । काभ्रेको रोशी खोलामा गएराती आएको बाढीमा बगेर एक जनाको मत्यु भएको छ । खोलामा राति एक्कासी बाढी बढेपछि रोशी गाउँपालिका ७ निवासी कुन्साङ तामाङको मृत्यु भएको हो । उनी बिपी राजमार्गमा श्रमिकको काम गर्दै आएका थिए । बाढीमा फसेका ७ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले स्काइभेटरको सहयोगमा सकुशल उद्धार गरिएको छ ।

बाढीका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा ठप्प भएका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण रोशी गाउँपालिका–७ घुमाउने डाँडा, वडा नम्बर ९ विरुवाडाँडा, वडा नम्बर ११ काल ढुङ्गा तथा नमो बुद्ध नगरपालिका–६ चोक डाँडामा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । गत वर्ष आएको बाढीले राजमार्गमा ठुलो क्षति पुर्‍याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको थियो । सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा निर्माण भएका अस्थायी ड्राइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।