काठमाडौं, १४ चैत्र । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन वर्तमान सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको विषयप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएकी छिन् ।
कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरुले देखाएको सन्दर्भमा, सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय भएको भण्डारीले उल्लेख गरेकी छिन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले सरकारको यस निर्णयलाई अपरिपक्वताको संज्ञा दिँदै यस्ता निर्णयले वर्तमान संविधान, प्रचलित कानून तथा स्थापित लोकतान्त्रिक अभ्यासहरुसँग मेल नखाने पनि टिप्पणी गरेकी छिन् ।
उनले भनेकी छिन्–‘कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत् प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुन्छ । हतारमा गरिएको निर्णयले विधिको शासनप्रति जनविश्वास कमजोर बनाउन सक्छ र मुलुकमा पुनः द्धन्द्ध तथा अस्थिरताको जोखिम बढाउन सक्छ ।’ उनले वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुःखद् विषय भएको पनि टिप्पणी गरिन् ।





प्रतिक्रिया