अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


रूपन्देही, १४ चैत । सिद्धार्थनगर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम २ सय ४० मिलिग्राम र नगद ९० हजार ४ सय ८० रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ कर्णपथ बस्ने ४५ वर्षीय मोहम्मद नौषाद आलम र भारत महाराजगंज थाना सोनौली बस्ने २६ वर्षीय मोहम्मद युसुफ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवावाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध ओपीडोल ७ सय ९० ट्याब्लेट, स्पास्पेन ८ सय ९० ट्याब्लेट र नाइट्राजेपाम ५ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-९ बस्ने २२ वर्षीय चुडामणी रायमाझीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको स.१ ज ५०३ नम्बरको गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम सहित देवानगन्ज गाउँपालिका-१ बस्ने २३ वर्षीय राकेश कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले बि ३८ एल २९६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय केशव खत्री समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले म.१ च ७०८ नम्बरको जिपमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार जिप चालकको खोजी गरिरहेको छ ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-४ दया अमरपुर शिविर बस्ने ३० वर्षीय सन्जु चौधरी र उनकै श्रीमती २४ वर्षीया जानकी चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.५ प ६४२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-६ गिरीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत ठाकुरगंज घर भएका ३७ वर्षीय बेचन यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथली कलगैराचोकबाट नियन्त्रित लागूऔषैध ट्रामाडोल १ हजार ५ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने काभ्रे घर भएका ३३ वर्षीय रमेश लामा भन्ने सुजन लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले बा.४९ प ५६९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।