काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दिपक कुमार खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बिहान बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको जनाइएपनि पक्राउको कारण र आरोप सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका खड्काको निवासमा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा पैसा उडेको भन्दै भाइरल भिडियोका बारेमा समेत अनुसन्धान हुने जनाइएको छ ।
शुक्रबार शपथ खाएका गृहमन्त्री सुधन गुरुङको आदेशमा शनिबार बिहान एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओली र लेखकपछि आज खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत कार्तिकमा लैन्चौरस्थित नेपाल स्काउटको जग्गामा खड्काले बनाएको भौतिक संरचना (ब्याङ्क्वेट र होटल) भत्काउन पुगेका सुधन गुरुङले सडकबाट कारबाहीको चेतावनी दिएका थिए। आफूलाई जेन–जीको नेताको रूपमा चिनाएका गुरुङले काठमाडौंका तत्कालीन मेयर एवं अहिलेका प्रधानमन्त्री वालेन्द्र शाहको अभियानमा साथ दिदै महानगरका डोजरसहित लैनचौर पुगेर फेसबुकबाट लाइभ गरेका थिए ।




प्रतिक्रिया