अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ


काठमाडौँ, १५ चैत । जयपृथ्वी नगरपालिका-९ चिउरीखानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रदिप बोहरा र २३ वर्षीय तिलक बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देही, कञ्चन गाउँपालिका-५ गरगरेस्थित देउराली टोल बस्ने ३० वर्षीय किरण सुनार समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले किरणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-९ ब्रांग्रा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय जनक ठगुन्नालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, कानेपोखरी गाउँपालिका-६ बिहिबारे बस्ने ३२ वर्षीय दिप्लुङ राई समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-१ ढक्का बस्ने २३ वर्षीय सिकन्दर राना र २८ वर्षीय रामपाल राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ८० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-२ दुम्किवास बजारबाट नियन्त्रित लागूऔषध स्पास्मो ८८ ट्याब्लेट र नगद ८ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अमृत श्रेष्ठ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ना.१९ प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँ बस्ने २७ वर्षीय सोम कुमार थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ८० मिलिग्राम र डिजिटल तराजु १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।