यसकारण मध्यरातमा पक्राउ परिन लुम्बिनी प्रदेश सांसद शर्मा


काठमाडौं, चैत १६ । लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई धुम्बराहीबाट पक्राउ गरेको हो । शर्मामाथि एक बालिकालाई लामो समयदेखि आफ्नो घरमा राखेर बालश्रम गराएको गम्भीर आरोप लागेको थियो।

यसअघि महानगरपालिकाको नगरप्रहरी, वडा प्रतिनिधि र प्रहरीको टोलीले ती बालिकाको उद्धार गरी घटनास्थलको मुचुल्का समेत तयार पारेका थिए। यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा चलाउन नपर्ने रायसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।

त्यसबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर शाहले २९ माघ २०८१ मा सामाजिक सञ्जालमा लेखेका थिए। उनले ‘सरी नानु, तिम्रा पीडकविरुद्ध मुद्दा नचल्ने बनाइयो, नआत्तिनू, समय आउनेछ’ भन्दै पीडित बालिकालाई हौसला दिएका थिए। शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रहरीले अन्ततः उनलाई पक्राउ गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ।