शिव परियारको गुनासो: कार्की आयोगको प्रतिवेदनमा मेरो नाम भ्रम फैलाउने व्यक्तिका रूपमा चित्रण गरियो


काठमाडौं, चैत २६ । गायक शिव परियारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा आफ्नो नाम गलत ढंगले प्रस्तुत गरिएको गुनासो गरेका छन् ।

कार्की आयोगको प्रतिवेदनमा गत २३ र २४ भदौको जेन–जी विद्रोहका क्रममा भ्रामक सन्देश प्रवाह गर्ने व्यक्तिहरूको सूचीमा परियारको नाम समेत उल्लेख रहेपछि उनले प्रतिवेदनमा आफ्नो नाम आउनु गलत भएको गुनासो गरेका हुन् ।

परियारले २४ भदौमा सामाजिक सञ्जालमा ‘हिजो बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला भन्ने खबर छ, के यो सत्य हो?’ भनेर लेखेका थिए । यो स्टाटस भ्रम फैलाउनका लागि नभएर सत्य बुझ्नका लागि राखिएको जिज्ञासा भएको परियारको दाबी छ ।

‘उक्त पोस्ट कुनै पनि प्रकारको पुष्टि, दाबी, भ्रामक सूचना प्रवाह वा प्रचार गर्ने उद्देश्यले नभई नेपालको संविधानमा सुरक्षित नागरिकको सही सूचना पाउने मौलिक हक प्रयोग गर्दै केवल सामाजिक सञ्जालमा तत्कालीन समयमा फैलिएको खबरको सत्यता बुझ्ने जिज्ञासामूलक प्रश्न मात्र थियो’, परियारले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘उक्त पोस्टपश्चात् मेरा प्रिय शुभचिन्तक दर्शक, स्रोता, फेसबुक मित्र र फेसबुक फलोअरहरूबाट प्राप्त अनगिन्ती प्रतिक्रियाहरूबाट उक्त खबर भ्रामक र गलत रहेको स्पष्ट भयो । तत्पश्चात् मैले उक्त पोस्टको आवश्यकता नरहेको महसुस गरी पोस्ट हटाएको थिएँ । मैले लेखेको उक्त पोस्टको वास्तविकतालाई बङ्ग्याएर, ममाथि अत्यन्त पूर्वाग्रही र प्रतिशोधात्मक भावना राखेर, गम्भीर आरोपसहितका हेडलाइनमा ‘सामाजिक सञ्जालमा भ्रम फैलाउने’ व्यक्तिका रूपमा चित्रण गरी मेरोबारे भ्रामक समाचार प्रकाशित गरे ।’

यस पृष्ठभूमिमा भएको विषयमा आधारमा कार्की आयोगको प्रतिवेदनमा आफ्नो नाम आउनु गलत मात्रै नभएर नागरिक अधिकारमाथिको हनन् भएको परियारको भनाइ छ । ‘