काठमाडौं, चैत १६ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै अनुशासन समितिको जरुरी बैठक बोलाइएको जानकारी दिएका हुन् ।
उक्त बैठक पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्नेछ । पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्न थालेपछि अनुशासन समितिको बैठक आह्वान गरिएको हो । तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार देउवा समूहको बैठक बोलाएका छन् । बैठकमा तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका देउवा पक्षीय पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।
तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा नेकपा (एमाले) अध्यक्ष केपी ओली, कांग्रेसका नेता रमेश लेखक र अर्का नेता दीपक खड्का पक्राउ र २१ फागुनमा सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गर्ने उल्लेख छ । ओली र लेखक पक्राउको विषयमा पार्टी संस्थापन र देउवा पक्षले अलग–अलग विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेका थिए ।




प्रतिक्रिया