ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकियो


काठमाडौँ, १६ चेत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री  एवं कांग्रेस नेता  रमेश लेखकको पक्राउ गैरकानुनी रहेको बताउँदै दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा बहस सकिएको छ । 

एमाले अध्यक्षसमेत रहेका ओलीको सुनुवाइ सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासमा र कांग्रेस नेता लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको हो ।

ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी थिइन् भने लेखकको तर्फबाट उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् ।

२३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा बल प्रयोग गरे अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न उनीहरु दुबै जनालाई शनिबार पक्राउ गरिएको थियो । प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंमार्फत उनीहरुलाई पाँच दिन अनुसन्धानका लागि थुनामा राख्ने अनुमति पाएको छ ।