अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ



काठमाडौँ, १६ चैत। इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २१ वर्षीय अनिस तामाङ र २२ वर्षीय राघब राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट इनरूवा बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-८ बस्ने २६ वर्षीय सचिन घिमिरे र २८ वर्षीय बिबेक श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ देवकोटा पथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ४० मिलिग्राम र नगद ७१ हजार ७ सय ९५ रूपैयाँ सहित भारत बिहार सुपौल अचलपुर-९ डुमरी बस्ने २३ वर्षीय आदित्य सागरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को.३४ प १११४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा धरान उपमहानगरपालिका-१८ बुद्ध चौकस्थित कान्तिपुर गेष्ट हाउसबाट भारत सुपौल धरहरा-८ गणपतगंज राधोपुर बस्ने २६ वर्षीय राज कुमार यादवलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम २ सय ३ मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका-५ शान्ति चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९४ ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लावारी नगरपालिका-१ बस्ने १९ वर्षीय विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ बस्ने १९ वर्षीय सागर चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, गौरादह नगरपालिका-२ हिमालचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही नगरपालिका-२ बस्ने ३० वर्षीय धिरन राई समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२२ सचिन चोक अगाडिबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित रौतहट देवाही गोनाही नगरपालिका-३ बस्ने ३५ वर्षीय मनोज पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, बर्दगोरिया गाउँपालिका-२ सम्झनाचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-६ बस्ने ४२ वर्षीय मिन बहादुर डगौरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ ग्राम १ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-२ उल्टाखाम बस्ने २७ वर्षीय टेकेन्द्र भण्डारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कायालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।