अध्यक्ष ओलीमाथि प्रतिशोध साँधियो, एमालेको जग त्यति कमजोर छैन : सांसद ऐन महर (भिडिओसहित)


काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का सांसद ऐन महरले पार्टीका नेताहरु भागाभाग हुनुपर्ने कुनै कारण नभएको बताएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयमा प्रतिशोध साँध्न नहुने बताएका छन् । तर, राज्यको तर्फबाट सेलेक्टिभ जस्टिस चाहीँ हुन नहुने उनको तर्क छ ।

हिजो (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले एउटै प्रकृतिको विषयमा कसैलाई केही र कसैलाई अर्को हुन नहुने बताए । उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई कानूनी राज्य स्थापना गर्न र लोकतन्त्रको सुदृढीकरणको लागि शुभकामना दिएका छन् । सरकारको नेतृत्व गरिसकेपछि प्रधानमन्त्री र गृहमन्त्रीले सबैको साझा नेतृत्वकर्ता बन्नुपर्ने उनको सुझाव छ । उनले अध्यक्ष ओलीको पक्राउ कानूनसम्मत् भएन भनेर आफूहरुले सडक दबाब दिएको स्पष्ट पारे ।

उनले भने,‘उहाँहरुले राजनीतिक पूवाग्रह राखेर जसरी प्रतिशोध साँध्ने काम गर्नुभयो, त्यो गर्न पाईँदैन भनेर राजनीतिक दबाब दिएका छौं । अर्को, कानूनसम्मत् भएन भनेर हामी अदालती प्रक्रियामा पनि सामेल भएका छौं । दुई तिहाईको जनमत छ । बिस्तारै गए अवश्य पुगिन्छ तर छिटो गरे भन्न सकिन्न भन्ने उखान छ ।’ ०७४ सालमा आफूहरु सवार जेट विमान पनि दुर्घटनामा परेको भन्दै अहिले बालेन–रवि नेतृत्वको विमान पनि कतै दुर्घटनामा पर्ने हो कि भन्ने खतरा रहेको उनले आशंका व्यक्त गरे । उनले बालेन सरकार पाँच वर्ष नै टिक्नुपर्ने र जनताको आकांक्षा पूरा गर्न सफल हुनुपर्ने बताए ।

सांसद महरले गौरीबहादुर कार्की आफैं पूवाग्रही रहेको र उनी नेतृत्वको आयोगले दिएको प्रतिवेदन पनि पूर्वाग्रही रहेको बताए । उनले आायेगका अध्यक्षले सरकारको स्वार्थ पूरा गर्ने काम गरेको बताए । उनले एमालेको जग त्यति कमजोर नभएको बताए । सरकारले कानूनबमोजिम अनुसन्धान गर्दा आपत्तिको विषय नहुने भन्दै तर प्रतिशोध भने साँध्ने नहुने बताए ।