ऋषि धमला मौरीजस्तै हुनहुन्छ, उहाँको सक्रियता लोभलाग्दो छ : सञ्जिव रेग्मी


काठमाडौं, १७ चैत्र । पत्रकार सञ्जिव रेग्मीले पनि क्लबको २८ वर्ष पूरा भएर २९ वर्ष लागेकोमा शुभकामना दिएका छन् । उनले क्लबका सभापति ऋषि धमलालाई मौरीको संज्ञा दिए । उनले धमलाको सक्रियता लोभलाग्दो भएको भन्दै आफूहरुले पनि अनुसरण गरेको बताए ।

क्लबको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने,‘जीवहरुमा मेहनती मौरी हुन्छ भनिन्छ । ऋषिजी धेरै मेहनती मान्छे हो । परिश्रमी पत्रकार हो । कहिल्यैपनि ऋषि धमलाले कुनै पार्टीनिकट संगठनहरुको सदस्यता पनि लिनुभएन, आजसम्म आफूलाई स्वतन्त्र पत्रकारको छवि राख्न सफल हुनुभएको छ । प्रतिपक्षी भनेको मिडिया नै हो । डिजिटल मिडियालाई राज्यले चिनेको छैन, हिजोको सरकारले हामीलाई चिन्न खोज्नुभएन । संविधानभन्दा बाहिर गएर नियन्त्रण गर्न खोज्नुभयो, आज यो सरकारसँग यो स्टाण्ड कायम रहन्छ । कानूनी रुपमा चिन्ने बनाउनेछ भन्ने विश्वास छ ।’