काठमाडौं, १७ चैत्र । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रिपोर्टर्स क्लब नेपालको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । उनले क्लबका सभापति ऋषि धमला आफूजस्तै मेहनती व्यक्तित्व भएको भन्दै उनको पनि प्रशंसा गरे ।
क्लबको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै धमलाले उनले भने,‘मैले पनि ऋषि धमलाको पत्रिका बेचेको आवाज सुनेको छु । म पनि भैंसी पालेर आएको हुँ, खिसीटिउरी गरेका छन् । हामीले काम गर्न छोड्नुहन्न । काम गर्ने मान्छे कर्मवीर हुन्छन् । म कृषकको छोरो हुँ । चन्द्र ढकाल र मैले पानीमा चोपेर बिस्कुट खाएका छौं । ऋषिजीले पनि धेरै दुःख गर्नुभएको छ । ऋषि धमला भनेको भारतका अमिताभ बच्चनजस्तै हो, त्यहाँ बलिउडमा अमिताभ बच्चन, यता नेपाली पत्रकारितामा ऋषि धमला एउटै हो, जब उहाँ रहनुहुन्न, तब नेपाली समाज र मिडिया जगतले ऋषि धमलाको आवश्यकता र अभाव महसुस गर्छन् ।’
सो क्रममा उनले क्लबलाई २८ वर्ष पार गरेर २९ वर्ष लागेकोमा बधाई तथा आगामी दिनमा सक्रिय पत्रकारिताको लागि शुभकामना दिए ।
उनले अहिले बालेन शाह नेतृत्वमा बनेको सरकारको पनि केही कुरा गरे । अहिले एक सय दिनसम्म सरकारको बारेमा केही बोल्न नहुने र हेर्नुपर्छ भन्ने आवाज उठेपनि चुनावपछि नेपालको अवस्था ‘चिल आयो चिल आयो भन्दाभन्दै चिलले चल्ला टिपेर लगेजस्तो’ रहेको चित्रण गरे ।
उनले भने,‘अहिलेको सरकारलाई एक सय दिनको लागि हेर्नैपर्छ । तर, यहाँ चिल आयो चिल आयो भनेर चल्ला टिप्ने काम हुँदैछ । जियोपोलिटिक्स नि, भर्खरै ०८२ को चुनाव भयो । मैले त्यतिवेला पनि सुरक्षा निकायका ठूला ठूला बर्दीधारी हाकिमहरुलाई भनेको थिएँ, अब वैधानिक रुपमा विदेशीको हातमा सत्ता सुम्पिनुभयो । इतिहासले क्षमा गर्दैन । तपाईंहरुको सन्तान मासिएर जान्छन् भनेको थिएँ ।’
उनले यसअघि पनि बाटोघाटो गाउँगाउँसम्म पुगेर विकास भएपनि ती गाउँको बाटोमा हिड्ने मान्छे पो त साउदी पुगेर पो दुःख भयो भनेर सुनाए । उनले अहिले सरकारले घोषणा गरेको एक सय वटा सुधारको कार्यक्रममा स्वास्थ्य र शिक्षामा १० प्रतिशत निःशुल्कको व्यवस्था आफूहरुले उहिल्यै लागु गरेको पनि दाबी गरे ।
उनले भने,‘हामीले हाम्रो अस्पतालमा यो सुविधा दिएकै छौं । स्कुलमा पनि विद्यार्थीलाई छात्रवृत्ति दिएको छु । एक सय बुँदामा केही फरक छैन । तरकारी के भन्दा विहान आलुमुला र बेलुका मुलाआलुजस्तो हो । जे जे ल्याएपनि ढुकुटीमा पैसा हुनुपर्यो नि । झापामा आज तारे होटलमा बोहनी हुन छोड्यो । परिवर्तन खोजेको हो । तर, सेना खोजेको होईन । तिब्बतियनको देश होईन । ओलीलाई पक्राउ गर्नु ठीक होला, तर आगो लगाउनेहरुलाृई किन पक्राउ गरेन ? दलाई लामाको मान्छे भोलि आउँदै छन् भन्ने सुनेको छु ।’




प्रतिक्रिया