नेप्सेले सार्वजनिक गर्‍यो मार्जिन कारोबारका लागि योग्य १२३ कम्पनी, वैशाख २ देखि सेवा सुरु हुने


काठमाडौं, १८ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य ठहरिएका १२३ सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ।

‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई छनोट गरी सूची सार्वजनिक गरिएको हो, जसले पूँजी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। नेप्सेका अनुसार अब ती कम्पनीहरूको शेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण (मार्जिन लोन) लिएर थप शेयर खरिद–बिक्री गर्न सक्नेछन्।

कार्यप्रक्रियाको दफा ९ अनुसार उक्त सूची कार्यान्वयनमा ल्याइनेछ, जसले लगानीकर्तालाई सीमित पूँजीमा पनि बढी कारोबार गर्ने अवसर प्रदान गर्नेछ।मार्जिन कारोबारका लागि योग्य कम्पनी छनोट गर्दा पर्याप्त बजार पूँजीकरण, उच्च तरलता, सार्वजनिक सेयर हिस्सा (पब्लिक फ्लोट), नाफा र सकारात्मक नेटवर्थ जस्ता मापदण्डलाई आधार बनाइएको छ।

साथै, नियमित रूपमा वित्तीय विवरण सार्वजनिक गर्ने र नियामक निकायको कारबाही वा निगरानीमा नपरेका कम्पनीहरू मात्र सूचीमा समावेश गरिएको नेप्सेले जनाएको छ।नयाँ सूचिमा सबै वाणिज्य बैंक समेटिएका छन् भने ११ विकास बैंक सूचीमा अटाएका छन् र ६ विकास बैंक बाहिरिएका छन् । वित्त कम्पनीतर्फ ११ समावेश हुँदा ७ कम्पनी बाहिरिएका छन्।

लघुवित्त क्षेत्रबाट १७ कम्पनी, जीवन बीमा कम्पनी १२ र निर्जीवन बीमा कम्पनी ११ समेटिएका छन्। ऊर्जा क्षेत्रतर्फ भने २४ जलविद्युत कम्पनी मात्र योग्य ठहरिएका छन् । बीमा समूहअन्तर्गत हिमालयन रिइन्स्योरेन्स समावेश हुँदा नेपाल रिइन्स्योरेन्स भने यसपटक सूचीबाट बाहिरिएको छ।मार्जिन कारोबारले लगानीकर्तालाई कम पूँजीमा ठूलो लगानी गर्ने अवसर दिने भए पनि जोखिम उच्च हुने भएकाले नियामक निकायले समय–समयमा सूची परिमार्जन गर्दै आएको छ।

यसले बजारमा अवसरसँगै जोखिम व्यवस्थापनको आवश्यकता पनि बढाउने देखिन्छ।यसैबीच, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउने जनाएको छ। एसोसिएसनले विज्ञप्ति जारी गर्दै योग्य ब्रोकरमार्फत उक्त सेवा उपलब्ध गराइने जानकारी दिएको हो।

ब्रोकरहरूले आफ्नै कार्यप्रक्रिया तयार गरी अन्तिम चरणको तयारी पूरा गरिसकेको जनाइएको छ। केही प्राविधिक पक्ष मिलाउन बाँकी रहे पनि वैशाख २ देखि सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। उक्त सुविधामार्फत लगानीकर्ताले आफ्नो शेयर धितो राखेर ऋण लिएर थप कारोबार गर्न सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ र नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ यसअघि नै जारी गरिसकेको अवस्थामा अब यसको कार्यान्वयनसँगै नेपाली पूँजी बजारमा नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ।