इनिशा बिक मृत्यु प्रकरण: आरोपित ४ जनालाई बालसुधार गृहमा पठाउन आदेश


काठमाडौं, चैत १८ । सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि बलात्कारपछि हत्याकोे आरोपमा पक्राउ परेका चार जना नाबालकलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

मंगलबार सुर्खेत जिल्ला अदालतको बाल इजलासका न्यायाधीश दीपक ढकालले कानुनी विवादमा रहेका चारै जना नाबालकलाई अनुसन्धान पूरा नभएसम्म थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएका हुन् । अदालतको निर्णय अनुसार उनीहरूलाई बालसुधार गृहमा राखिनेछ । अदालतका श्रेष्ठदार हरि गोपाल ज्ञवालीका अनुसार घटनाको गम्भीरता र उपलब्ध प्रारम्भिक प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा गत फागुन २३ गते इनिशा विक बेहोस अवस्थामा फेला परेकी थिइन्। सोही घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै संलग्न रहेको आशंकामा चार जना नाबालकलाई नियन्त्रणमा लिएको थियो ।