काठमाडौं, १८ चैत । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेका छन्।
संस्थाले सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।संस्थाका अनुसार महिला आदर्श सेवा केन्द्रले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएपछि सञ्चालक समितिले प्रस्ताव स्वीकृत गर्दै तोकिएको मूल्यमा प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
यससँगै विद्यमान संस्थापक शेयरधनीहरूलाई पहिलो प्राथमिकता दिँदै शेयर खरिदको अवसर प्रदान गरिएको छ।सूचना अनुसार हालका संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
इच्छुकले कति कित्ता शेयर कति मूल्यमा खरिद गर्ने हो स्पष्ट उल्लेख गरी संस्थाको कर्पोरेट कार्यालय, सितापाइला, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ।यदि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट कुनै आवेदन नआएमा भने प्रचलित कानुनअनुसार अन्य इच्छुक व्यक्ति वा संस्थालाई समेत संस्थापक समूहमा समावेश गरी शेयर बिक्री प्रक्रिया अघि बढाइने जनाइएको छ। यसका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अनुसार प्रक्रिया अगाडि बढाइनेछ।




प्रतिक्रिया