अवैध लागूऔषधसहित आठ जना पक्राउ


काठमाडौँ, १८ चैत । काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ हजार ५ सय १६ ट्याब्लेट सहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भएका ३५ वर्षीय सुरेश तामाङ, दलोखा भीमेश्वर नगरपालिका-६ घर भएका २२ वर्षीय सन्जिव घिसिङ, धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ घर भएका २२ वर्षीय सुरेन्द्र कुमार रौनिहार र काभ्रे रोशी गाउँपालिका-९ घर भएका २३ वर्षीय रोहित राना मगर रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सुरेशलाई ट्रामाडोल ३१ हजार ८ सय ट्याब्लेट र सन्जिवलाई १ हजार ९ सय ९६ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-२२ बाट, सुरेन्द्रलाई १ हजार १ सय २० ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट र रोहितलाई ६ सय ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-२१ भोटेबहालबाट पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-४ बेलनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम र नगद ६० हजार रूपैयाँ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय कमरूदिन जागा र २२ वर्षीय जमाल हसन जागा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुर, बागमती गाउँपालिका-३ भट्टेडाँडा छपेलीबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय २४ ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ बस्ने ३७ वर्षीया सुन्तली तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले हेटौंडाबाट ललितपुर भैंसेपाटीतर्फ आउँदै गरेको बा.८६ प ४००९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।