काठमाडौं, चैत १९ । आज चैत्र शुक्ल पूर्णिमा । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती मनाइँदै आइएको छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी हनुमान जन्मजयन्ती मनाइँदै छ। रामभक्त हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने जनविश्वास रही आएको छ ।
आजको दिनमा विशेषगरी हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमान लगायतका विभिन्न हनुमान मन्दिरमा पूजा आराधना गरिन।यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् ।
हनुमानलाई पवनपुत्र भनिन्छ । उनको पालनपोषण पवनले गरेका थिए । उनको शरीरले एक बज्रको समान गरेका कारण हनुमानलाई बजरङ्गबलि पनि भन्ने गरिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने जनविश्वास रहेको छ ।विष्णु अवतार मानिने रामलाई सहयोग गर्न शिवले हनुमानको अवतार लिएको वैदिक शास्त्रले जनाउँछन् ।
हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्र हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए । यसरी रामायणभन्दा पूर्वहनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ ।
रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिएको वर्णन गरिएको छ ।




प्रतिक्रिया